श्रमजीवी पत्रकारहरुलाई महासंघको साथ, कडा कदम चाल्ने चेतावनी

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : १५


काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल रिपव्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपव्लिका अंग्रेजी दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जनाएको छ । श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुन नसक्ने भन्दै समस्या समाधानमा उदासीनता देखाए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

त्यसैगरी टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवासुविधा लामो समयदेखि प्राप्त गर्न नसकेको विषयमा पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यहाँ कार्यरत पत्रकारले विनियमावली तय गरी न्यूनतम पारिश्रमिक र सेवा, सुविधा थप हुनुपर्ने भन्दै सुरु गरेको दबाब अभियानमा महासंघको ऐकयवद्धता रहेको जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा अतः व्यवस्थापन पक्षले २०७३ साल पुस २५ गते श्रमजीवी पत्रकारसँग गरेको ६ बुँदे सहमति अक्षरशः कार्यान्वयन गरी तत्काल माग सम्बोधन गर्न जोडदार माग गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ
नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुले लामो सयमदेखि नियमबमोजिम पाउनुपर्ने पारिश्रमिक र सुविधा उपलब्ध हुननसकेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारले प्राप्त गर्नुपर्ने पारिश्रमिक एवं सुविधा लामो सयमदेखि प्राप्त गर्न नसक्नु दुःखद् विषय हो । 

उक्त मिडियामा श्रमजीवी पत्रकारले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति महासंघको पूर्ण समर्थन र ऐक्यवद्धता छ । श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुनसक्दैन ।

यस्तै टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवा सुविधा लामो समयदेखि प्राप्त गर्न नसकेको विषयमा पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ कार्यरत पत्रकारले विनियमावली तय गरी न्यूनतम पारिश्रमिक र सेवा, सुविधा थप हुनुपर्ने भन्दै सुरु गरेको दबाब अभियानमा महासंघको ऐकयवद्धता छ । अतः व्यवस्थापन पक्षले २०७३ साल पुस २५ गते श्रमजीवी पत्रकारसँग गरेको ६ बुँदे सहमति अक्षरसः कार्यान्वयन गरी तत्काल माग सम्वोधन गर्न महासंघ जोडदार माग गर्दछ ।

नेपाल रिपब्लिका मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग र गुनासा सुनुवाई गरी सम्वोधन गर्न महासंघ आग्रहसमेत गर्दछ । महासंघको आग्रहलाई बेवास्ता गरी समस्या समाधानमा उदासिनता देखाएमा महासंघले कडा कदम चाल्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँदछ ।
    
    रमेश विष्ट
    महासचिव
 


प्रतिक्रिया दिनुहोस्