परराष्ट्रमन्त्री बन्दै एनपी साउद, आजै शपथ

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०७


काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउन लागेका हुन् ।

वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन् ।

नेपाली कांग्रेस संस्थापन पक्षका एक नेताले जानकारी दिएअनुसार दाहाल नेतृत्वको यस मन्त्रिपरिषद्मा कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउनको लागि नाम पठाइएको छ ।

गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सकेका छैनन् । गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्