काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको बताएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले यो वर्ष नयाँ आशा र खुसीसँगै विकासको वर्ष बन्न सकोस् भन्ने कामना गरेका छन् ।
“नयाँ वर्षमा प्रवेश गरिरहँदा हामीले विगतको वर्षको समीक्षा गर्न पनि आवश्यक छ । २०७९ सालमा तीनवटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको छ । जनताको म्यान्डेटअनुसार प्रदेश र संघमा नयाँ सरकारसमेत निर्माण भइसकेको छ,” उनले सन्देशमा भनेका छन्, “नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् । अब राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ ।”
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनुपर्ने समय आएको उनले बताएका छन् ।