काठमाडौँ । ६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले संशोधनसहित पारित गरेको छ।
नेकपाको अन्तरिम विधानको धारा ६० क (१) मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि पहिलो बैठक बसेको करिब २० महिनापछि बैठक बसेको हो। ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपश्चात् बृहत् छलफल नै गर्ने गरी पहिलोपटक बैठक बसेको हो।
१० जेठ २०७५ मा हस्ताक्षर गर्न पहिलो बैठक बसेको थियो। बैठक ढिलो हुनुमा एकता प्रक्रिया, संविधान कार्यान्वयन र सरकारी कामका केही विशिष्टता र जटिलता रहेको नेकपाले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको छ।
बैठकले २ नोभेम्बर २०१९मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ। पार्टीले यस विषयमा सरकारले लिएको अडानलाई दृढ समर्थन गरेको छ। आजको राजधानी दैनिकमा खबर छ।