काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
कार्यक्रम सञ्चालनको लागि नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाले रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ ।
यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम र नमूना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमूना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ विगो कायम गरी सजायँ हुन र विगो रकम समेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।
संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐनरनियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमताबारे सोधिखोजी नगरेको र विश्वसनीयता रहेरनरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजसँग सम्झौता गरेको अख्तियारको ठहर छ।