निबन्धभित्र रवीन्द्र अधिकारीको खोजी

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : ४१


तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रथम वार्षिक स्मृति दिवसमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुने भएको छ। गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको स्मरणमा गठित ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ले राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गरेको  प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिनुभयो। ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ शिर्षकमा निबन्ध प्रतियोगिता राखिएको छ। 

“रवीन्द्र अधिकारी शब्दमा नअटाउने नेता हुनुहुन्थ्यो, विकास र समृद्धिको स्पष्ट सोच भएको दूरदृष्टि नेता हामीले गुमायौँ, विद्यार्थी राजनीतिबाट सफल हुँदै मन्त्री हुनुभएका अधिकारीको स्मरणमा निबन्ध प्रतियोगिताको आयोजना गरेका हौँ”, आचार्यले भन्नुभयो । उहाँले अधिकारीका ‘संविधानसभा : लोकतन्त्र र पुनसंरचना’, ‘समृद्ध नेपाल’लगायत राजनीति एवं विकाससम्बन्धी थुप्रै लेख प्रकाशन भइसकेको बताउनुभयो । 

प्रतियोगितामा नेपालभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरुको सहभागिता रहने र यसका लागि प्रतिष्ठानले पत्राचारसमेत गरिसकेको प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत नियमित विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन् । एउटै विश्वविद्यालय र क्याम्पसबाट एक वा सो भन्दा बढीले समेत सहभागिता जनाउनसक्ने पाण्डेले बताउनुभयो । सहभागीले यही माघ मसान्तसम्म दुई हजार ५०० शब्दमा आफ्नो स्पष्ट परिचय खुलाएर इमेल वा अन्य माध्यमबाट निबन्ध प्रतिष्ठानको कार्यालय पोखरा–८ न्यूरोडमा पठाइसक्नुपर्नेछ। 

प्रतियोगितामा प्रथम हुनेलाई रु  २५ हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । विजेतालाई आगामी फागुन १५ गते अधिकारी स्मृति दिवसमा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्