काठमाडौं । नेपाल प्रहरीका १० जना कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिरी बसी सम्पर्कविहीन भएका छन् । प्रहरी हबल्दार दिपेन्द्र सिंहसहित १० जना कर्मचारी आफू कार्यरत कार्यालयबाट आफूखुसी गैर हाजिरी बसेका हुन् ।
यसरी आफूखुसी गैरहाजिरी बसेका कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० गतेदेखि सम्पर्कमा छैनन् । यसैगरी प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरज कुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि गैरहाजिर छन् ।
यसैगरी आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर बस्नुको कारण खुलाइएको स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए जागिरबाट हटाउने कारबाही अगाडि बढाइने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।