अमेरिकाको पक्षमा चर्को बोल्ने मन्त्री बाँस्कोटाको राजीनामा मागियो

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ५४


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गर्नुभएको हो।

‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ । चाह्यो भने अमेरिकाले सुलेमानी बनाईदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उहाँले भन्नुभयो ।

राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ताले ग्रहण लगाउन खोजेको उहाँको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो।

‘लेण्डुप जोर्दे प्रवृति आत्मसमर्पण प्रवृतिको विरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहन्छु’,उहाँले भन्नुभयो।

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन् । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’

आइतबारको बैठकमा सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताउनुभयो । राष्ट्रियहितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औल्याउनुभयो।

अर्का सांसद नारदमूनी रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताउनुभयो । संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उहाँको भनाई छ । ‘एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन् । राष्ट्रहितमा कसरी लान सकिन्छ । तपाई (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पावस’, उहाँले भन्नुभयो ।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गम्भिरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ । मत विभाजन गरेर विभाजित हुनुहुँदैन्’, उहाँले भन्नुभयो ।

एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरु व्यक्त भइरहेका छन । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरुको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ ।

प्रधानमन्त्री ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आउनुभएको छ । आइतबारको समिति बैठकले विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृति क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि २ महिना थप गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्