काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ ।
घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।
यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाउने छ । नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ । नेपाल लिग–२ मा ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ चौथो स्थानमा छ ।
नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ । नेपालले यूएईलाई हराउन सकेमा ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सकेमा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ ।