काठमाडाैं । कोरोनाभाइरसबाट फिलिपिन्समा पनि एकको मृत्यु भएपछि चीन बाहिर पहिलो मृत्यूको घटना सार्वजनिक भएको छ । उक्त ४४ वर्षे बिरामी चीनको हुवेई प्रान्तको वुहानबाट फिलिपिन्स आएका थिए ।
कोरोनाभाइरस पहिलो पल्ट वुहानमा देखिएको थियो । उनी फिलिपिन्स आइपुग्नुपूर्व संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म कोरोनाभाइरसको संक्रमण सुरु भएपछि ३०० भन्दा बढीको ज्यान गइसकेको छ । विश्वभरी गरेर १४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । उक्त मानिसमा राजधानी मनिलाको अस्पतालमा भर्ना हुनु भन्दाअगाडि निमोनिया देखिएको फिलिपिन्स डिपार्टेन्ट अफ हेल्थले जनाएको छ । उनी एक चिनियाँ महिलासँग फिलिपिन्स आएका थिए ।
ती महिलामा पनि भाइरस पोजेटिभ पाइएको थियो । अमेरिका र अस्ट्रेलियाले हालैमात्र चीन भ्रमण गरेका विदेशीलाई आफ्नो मुलुकमा प्रवेशमा निषेध गरेका छन् । न्यूजिल्यान्ड, रुस, जापान, पाकिस्तान र इटाली लगायतका अन्य मुलुकहरुले पनि समान किसिमको भ्रमण प्रतिबन्ध लगाएका छन् ।