काठमाडौं । उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् ।
त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् । सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नससक्दा तीन जनाले उम्मेदवारी दर्ता गराए।
प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।
त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
त्यस्तै १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनबाट उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् ।
उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।
नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।