काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिए।
न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो। प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए।
त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए।