रुपन्देही । जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पको अनुगमन गरेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित पाँच वटा पम्पमा आइतबार समितिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत तेल बिक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा सिल गरिएको छ ।
उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।
उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ ।
अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो ।