दूरसञ्चार प्राधिकरणले गर्‍यो आठ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ४३


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाही गरेको छ । स्वीकृतिबिना नै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको भन्दै प्राधिकरणले यी कम्पनीहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणबाट महशुल स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा सूचना प्रकाशित गरी लागू गरेको तथा यसबारे चित्तबुझ्दो स्पष्टीकरण समेत नदिएकाले १ लाख रुपैयाँ जरिवनासहित कारबाहीको निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, भायानेट कम्युनिकेसन, सुबिसु, क्लासिकटेक, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम, सीजी कम्युनिकेसन, डिस मिडिया नेटवर्क र वाईफाई नेपाललाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम जरिवाना गरिएको प्राधिकरणका प्रवक्त्ता सन्तोष पौडेलले जानकारी दिए ।

साथै यी सेवा प्रदायकहरूले कानुनविपरित गरेका कार्य अबको १५ दिनभित्र बन्द गरेर प्राधिकरणलाई जानकारी समेत गराउन निर्देशन दिइएको प्रवक्ता पौडेलको भनाइ छ । यीसँगै प्राधिकरणको निर्देशन विपरित अटो रिन्यू हुने गरी भिएएस सेवा सञ्चालन गरेको पाइएकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई पनि ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

उनीहरूलाई पटक-पटक विभिन्न माध्यमबाट अराजक कार्य नगर्न र ऐन विपरित कार्य नगर्न चेतावनी दिँदै आएको थियो। यस सम्‍बन्धमा स्पष्टीकरण समेत माग गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्