विश्वकप लिग–२ : पीएनजीविरुद्ध नेपालको रोमाञ्चक जित, आसिफको अर्धशतक

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : २०


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले ३५ रन बनाए ।

आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् । त्यस्तै ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाएका हुन् । नेपाललाई १०५र७ को अवस्थाबाट जिततर्फ अग्रसर बनाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो ।

नेपालले सुरुमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल खेलको दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक भएका थिए । कुशल मल्लले भने २३ रन बनाए । नेपालका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्