काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाएका छन् ।
गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उनीहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् ।
कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गरे ।
त्यस्तै, उनले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आएको पौडेको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ ।
उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरे । उनले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको बताए ।
त्यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ताकै दिन नेपाली कांग्रेसबाहेकका दलहरूलाई आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै पत्र पठाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पठाइको पत्रपछि उम्मेदवार नेम्वाङ दलका नेताहरूसँग मत माग्न आफैं धाइरहेका छन् ।