प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र फेरि संसदको ‘विश्वास’ लिनै पर्ने

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : २३


काठमाडौं । गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ दिनमै ‘अल्पमत’मा परेका छन् । नेकपा एमालेको मुख्य समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड एमालेले सरकार छाडेलगत्तै अल्पमतमा परेका हुन् ।

एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लि“दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि सरकारमा सहभागी अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिइसकेको छ ।

प्रचण्डले संविधानको धारा ७६ (२)अनुसार गत १० पुसमा प्रतिनिधिसभाका १ सय ६९ सांसदको समर्थन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेपछि राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रचण्डलाई नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका थिए ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अन्य तीन स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो ।

एमाले र राप्रपाबाट सरकारलाई दिएको समर्थन फिर्ता भएपछि प्रधानमन्त्रीलाई अब ७७ सांसदको मात्रै समर्थन छ । सो संख्या भनेको सरकार सञ्चालन गर्न अपुग हो ।


प्रतिक्रिया दिनुहोस्