काठमाडौं । प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो । बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो ।
निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या नपुग्ने पुरानै रोगले भने निरन्तरता पाएको छ ।
अनुगमन तथा मूल्याङ्कन विधेयकमाथिको विचार गरियोस् प्रस्ताव शुक्रबार पेस गर्दासम्म सदन खाली भएको थियो । सत्तारूढ दलका अधिकांश सांसद अनुपस्थित थिए ।
प्रतिपक्षका सांसदहरूको उपस्थिति पनि न्यून मात्र थियो । जसको परिणाम शुक्रबार १६० जनाले हाजिर जनाएको प्रतिनिधि सभामा गणपूरक सङ्ख्या यकिनका क्रममा ५० जना मात्र सदनमा उपस्थित थिए ।
गणपूरक सङ्ख्या नपुगेपछि विधेयकमाथि विचार गरियोस् प्रस्ताव अघि बढेन । सङ्ख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक सोमबारसम्म स्थगित गरे ।
संवैधानिक व्यवस्थाअनुसार सदनमा कुनै पनि प्रस्ताव वा प्रश्नलाई निर्णयका लागि पेस गर्दा कम्तीमा एकचौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।
जसअनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा प्रस्ताव निर्णयार्थ पेस गर्नका लागि न्यूनतम ६९ सदस्य आवश्यक पर्छ । शुक्रबार गणपूरक सङ्ख्या यकिन गर्दा ५० जना मात्र सांसदको उपस्थिति थियो । संविधानको धारा ९४ अनुसार प्रस्ताव पेस गर्न एकचौथाइ सदस्यको उपस्थिति अनिवार्य हुनुपर्छ ।