दमक । झापाको मेचीनगर–१५ मा सन्थाल समुदायले शान्ति, पितृ उद्धार र प्राकृतिक विपत्तिबाट जोगिन परम्परागतरुपमा करम पूजा गरेका छन् । आयोजकका अनुसार पूजालाई पहिलोपल्ट मदिरामुक्त तुल्याइएको थियो ।
मोरङ जिल्लाबाट यहाँ आएका सन्थाल पुजारीले गाउँको माझमा निर्माण गरिएको पूजास्थलमा आज बिहान दियो बाली मन्त्र जपेपछि पूजा शुरुआत गरिएको थियो ।
पूजामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, मेचीनगरका नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतको सहभागीता रहेको थियो ।
शुक्रबारदेखि निराहार व्रत बसेका ती समुदायले आज पूजा सकेर नदीमा नुहाएपछि मात्र खानपिन गर्छन् ।
पुजारी लक्ष्मण शरणले करम पूजामा माछामासु र मदिरा प्रयोग नगरिएको जानकारी दिनुभयो । उनीहरुले पूजामा ढोल बजाउँदै सिठी फुकेर नाचगान गरेका थिए ।
उहाँले अब पूजाआजामा मदिरा र मासु नचलाउन प्रोत्साहित गर्न थालिएको बताउनुभयो ।
पूजाको आयोजक मेचीनगर–१५ भिन्डीबस्तीका माझीहाडाम् (मुख्य मान्छे) कमलेश मर्डीले मेची नदीले सन्थाल बस्ती बगाउन लागेको, गाउँमा अकाल मृत्युका घटना बढेको र अशान्ति झै–झगडा बढ्न थालेकाले पूजाको आयोजना गरिएको जानकारी दिनुभयो ।
करम पूजा सकेपछि सबै सन्थाल समुदायका व्रतालुलाई आयोजकले खिचडी खुवाउने व्यवस्था मिलाएका थिए ।
माछामासु र मदिरा नचलाइने पूर्व जानकारी दिएकाले पूजामा सहभागीको समेत सङ्ख्या सोचे भन्दा कम भएको सन्थाल अगुवा एवं माझीहाडाम् मर्डीले जानकारी दिनुभयो ।
प्रदेश सांसद बुढाथोकीले सन्थाल समुदायमा मदिराको अनियन्त्रित सेवनले समुदायको आर्थिक, सामाजिक र स्वास्थ्य अवस्था नाजुक भएको बताउनुहुन्छ ।
सन्थाल समुदायबाट स्नातक अध्यययनरत सोहन मुर्मुले सन्थाल समुदायलाई शिक्षा र रोजगारी दिलाउने कार्यमा सरकारको ध्यान नपुगेको गुनासो गर्दै स्नातकोत्तर तहसम्म शिक्षा निःशुल्क हुनुपर्ने माग गर्नुभएको छ।