रोजगारीले बदल्यो महिलाको दैनिकी

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : १७


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्नुहुन्थ्यो ।

उहाँलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघ महिना शुरु भएसँगै उहाँलाई दिउँसोको समयमा मोबाइल चलाउने फुर्सद छैन । वडा नं ५ बेलचौतारामा स्थापना भएको ढुङ्ग्रो उद्योगले उहाँको दैनिकी बदलिएको छ ।

“श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ, म घरमा एक्लै छु”, अर्यालले भन्नुभयो, “घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो, मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन, तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको छ ।”

उहाँको बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म उद्योगमा काम गर्दा समय बित्ने गरेको छ । “पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुङ्ग्रो हुन्छ”, अर्यालले भन्नुभयो । 

श्रीमान्ले विदेशमा १०-१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको अर्यालले बताउनुभयो ।

उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको उहाँले बताउनुभयो । खैरेनीटारकै इन्द्रा अर्यालको पनि दिउँसोको समय त्यत्तिकै बित्थ्यो ।

उहाँको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेको उहाँले बताउनुभयो । 

घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित उद्योगमा काम गर्न शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

“घरमै बसेर खेर जाने समयको सदुपयोग गर्दा आम्दानीको स्रोत पनि भएको छ”, उहाँले भन्नुभयो । व्यास नगरपालिका–१० घर भई हाल शुक्लागण्डकी–५ बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले आम्दानीको स्रोत भएकाले केही कुरा किन्नुपर्दा श्रीमान्को भर पर्नु नपरेको बताउनुभयो ।

“केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफैले पनि अलि–अलि कमाउन थालेपछि श्रीमान्को भर पर्नुपरेको छैन”, उहाँले भन्नुभयो । 

माछापुच्छ्रे फुड प्रोडक्टमा उहाँहरुसहित ३० महिला र पाँच पुरुषले रोजगारी पाउनुभएको छ ।

सबै महिला शुक्लागण्डकी आसपासका हुनुहुन्छ । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशङ्कर यादव र अभिषेक यादवको संयुक्त लगानीमा यही माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ ।

लगानीकर्ता ढकालको जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ ।

उद्योगमा हालसम्म ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिनुभयो । उक्त उद्योगबाट हाल ढुङ्ग्रोमात्रै उत्पादन भइरहेको र निकट भविष्यमा चिजबललगायत पनि उत्पादन शुरु गरिने उहाँले बताउनुभयो ।

“शुरुआती चरण भएको भएर अन्य सामग्री उत्पादन गर्न सकेका छैनौँ, तर केही समय पछाडि अन्य सामग्री पनि उत्पादन गर्ने गरी काम थालेका छौं”, उहाँले भन्नुभयो । उहाँका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुङ्ग्रा उत्पादन भइरहेका र मागअनुसार पु¥याउन कठिन भइरहेको छ । 

उद्योगबाट उत्पादित ढुङ्ग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जालगायतका ठाउँमा निर्यात हुने गरेको छ।

“बजारको कुनै समस्या छैन, शुरुआत भएका कारण मागअनुसारको उत्पादन पनि गर्न सकिरहेका छैनौं”, ढकालले भन्नुभयो । उद्योगमा काम गर्ने कामदारलाई हाल दैनिक २०० का दरले पारिश्रमिक दिइएको र केही समय पछि मासिकरूपमा नै पारिश्रमिक दिइने उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्