बुझ्न नसकेको देश

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १० : ०९


मभित्र एउटा डर छ। नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन। अपाहिज परिवेश ओढेर हिँडेको बेला मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि म गर्न के सक्छु होला र? मेरा बच्चालाई कसैले चोरेर मृगौला बेचिदियो भने पनि गर्न के सक्छु होला ? वा मेरो मिल्दो अनुहारलाई कसैले पैसा नतिरेको एजेन्ट ठानेर बीचै बाटामा झुक्किएर पिट्यो भने पनि मैले के गर्छु होला ? मलाई थाहा छैन र अहिले लाग्दैछ– सायद म सहन्छु ।

देश भनेको कस्तो हुनुपर्छ ? तीन दिन सोचेर जवाफ दे भन्यो भने पनि सायद दिन सक्दिनँ । कल्पना गर्न वा सपना देख्न पनि कहीँ कतै त्यसको झल्को हृदयमा पसेको हुनुपर्छ भने देशको त्यो झल्को मेरो हृदयमा कतिबेला पस्यो, सम्झना छैन । 

हो, परिवार कस्तो हुनुपर्छ भनेर सोधिने हो भने केही जवाफ दिन्थेँ होला । साथी कस्तो हुनुपर्छ भनेर सोध्दा पनि जवाफ दिन्थेँ होला । त्यसका केही अनुभवहरु मसँग छन् तर नागरिक भएको अनुभव केलाई भन्ने ? अनुभूतिमा कतै आउन सकेको छैन । म नेपाली भएको कुराको बोध मलाई कहिले भएको हो ? कि अझै पनि भएको छैन कि वा मलाई नेपाली हुनुको जे–जस्तो अस्पष्ट बोध भइराखेको छ त्यो सही अर्थमा नेपाली हुनुको बोध नभएर अर्कै केही पो हो कि ?

छातीमा छाम्छु, देश कतै पनि भेट्टाउँदिनँ, खाली गिर्खा र विषादका फोकाहरु मात्रै छन् । देशमा नागरिक हुनु र घरमा छोरो हुनुमा के भिन्नता होला ? वा देशको नागरिक हुनु र विद्यालयको विद्यार्थी वा शिक्षक हुनुमा अन्तर के हो ? देश भएको मान्छेले के खान्छ ? के लाउँछ ? के सोच्छ, कहाँ जान्छ ? शरणार्थीहरु के हुन् ? उनीहरु देश नभएका कारण के कुराबाट वञ्चित हुन्छन् र म शरणार्थी हो कि होइन ? मेरो भाइ कतारमा छ, ऊ नागरिक हो कि होइन ? जनता हुनु र नागरिक हुनुमा भेद के हो ? त्यसमा म केमा पर्छु ?

मलाई बाँच्नु छ– त्यसैले काम चाहिएको छ र मलाई काम लगाएर मानिसहरुले पैसा दिँदैनन् तर उनीहरुसँगको सम्बन्ध बिग्रिन्छ भनेर म झगडा गर्न पनि चाहिरहेको छैन । 

मलाई बाँच्नु छ– त्यसैले शक्ति चाहिएको छ र म पार्टीमा लागेको छु अनि पार्टीका मान्छेले मेरो आवश्यकतातिर ध्यानै दिँदैनन् तर म उनीहरुले एक्ल्याउलान् भनेर वा जीवन झनै दुःखद् होला भनेर विरोध गर्न सकिरहेको छैन । 

मलाई बाँच्नु छ– त्यसैले डरलाग्दा छिमेकीहरुसँग झगडा गरेर खतरा मोल्न चाहिरहेको छैन तर उनीहरुले म हिँड्ने बाटो नै नक्सा मिलाएर चेपिदिन्छन्, बार लाइदिन्छन् तर म अदालतमा गएर मुद्दा हाल्न सकिरहेको छैन ।

मलाई थाहा छ– सरकारी कर्मचारीहरुले पैसा खाएर सार्वजनिक बाटो निजी व्यक्तिको नाममा गरिदिए र पछि सोधे, ‘२०२१ को नक्सामा के छ?’ २०२१ मा त्यो बाटै थिएन, म के बोलूँ ? उनीहरुले सुझाव दिए तपाईंले मुद्दा हाल्न सक्नुहुन्छ तर म त अर्कै केही काम गरुँ भन्ने सम्झिरहेको छु, सिनेमातिर लागूँ, साहित्यतिर लागूँ, सोच र चिन्तनतिर लागूँ, केही रचनात्मक काम गरुँ भन्ने ठानिरहेको मान्छे अब कताबाट मुद्दा हाल्न र वकिलको कार्यालयतिर धाउन थालूँ? फेरि पैसा पनि खर्च हुन्छ, घर बेचेर वकिल पोस्ने कुरा पनि भएन।

भाइ कतारबाट घर आएको बेलामा आमाले अब नजा यतै केही काम गर भन्नुभयो। हामी परिवारको चाहना त्यही हो– भाइले बिहे गरोस्, यतै कुनै काम गरोस्, सबै सँगै बसौँ। दुःख–सुखमा सबै एकै ठाउँ भइन्छ। भाइले यहाँ के काम गर्नु र, म उतै जान्छु बरु भन्यो । मैले बोल्ने केही भएन । के गर् भनूँ ? म यसो दुई–चार अक्षर पढेको भनेको मानिसको त हालत खराब छ, ऊ एसएलसी पासलाई मैले के काम गर् भन्नु ? फेरि उसको रुचि पनि हुनुपर्ला । परिवार टुक्रिएको छ । चाहेर पनि हामी एकै ठाउँमा बस्न सकिरहेका छैनौँ । यस्तो किन भइराखेको छ? भाइले नपढेकाले यस्तो भएको हो भने नपढेकाले देशमा काम नपाउने भन्ने पनि नहुनुपर्ने । फेरि धेरै पढेलेखेकाहरु पनि विदेश गइरहेका छन्। उनीहरुको परिवारले पनि त विखण्डित अनुभव गरिराखेको होला।

नेपाल देश हाम्रो हो भनेर पढेको हो, अहिले पनि म त्यो पढाइरहेकै छु। नेपाल राम्रो देश हो, यहाँ विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन्। यो प्राकृतिक हिसाबले धनी र सुन्दर देश हो। यहाँ संस्कृतिका विभिन्न रुपहरु छन्। यस्ता सबै कुराले मेरो जीवनमा, मेरो बाँच्ने कुरामा के सहयोग ग¥यो, मैले बुझिराखेको छैन। अनि यी नहुँदा के अप्ठ्यारो थपिन्थ्यो भन्ने पनि बुझेको छैन।

मलाई कहिलेकाहीँ त यस्तो लाग्छ, यो देश नभएको भए के हुन्थ्यो होला? यहाँ टेथिस सागर त हुँदैनथ्यो। यो अर्को कुनै देश हुन्थ्यो होला। अनि हामी अर्कै देशको नागरिक हुँदा हामीलाई के फरक पथ्र्यो वा हामी देशविनाका मान्छे वा अनागरिक हुँदा हामीलाई के फरक पथ्र्यो? त्यसले हामीलाई बाँच्न कति सजिलो वा कति अप्ठ्यारो पाथ्र्यो होला? अहिले हामी नेपाली भएर वा नेपाल भन्ने देश भएर हामीलाई के–के कुरामा सजिलो भएको छ? हिजो नेपाल बाइसी चौबिसीमा विभक्त हुँदा के–के कुरामा अप्ठ्यारो वा सजिलो थियो अनि पृथ्वीनारायणको पालामा राज्य विस्तार भएपछि हामीलाई केमा सजिलो र केमा असजिलो भयो? अथवा नेपाल, भारत, पाकिस्तान वा अमेरिका केही नभनी हामी मान्छे हुन सक्थ्यौँ कि पशु हुँदा हौँ?

कतै यो देश भन्ने कुरा ठूलाबडाले शासन गर्न बाँडेको भागबिलो त होइन? अथवा देश भन्ने कुरा पैत्रिक सम्पत्ति जस्तो बाँडीचुँडी खाने कुरा त होइन? अथवा देश भन्ने कुरा बेकारको भावना मात्रै त होइन? स्वाभिमान, पहिचान वा मूल थलो भन्ने कुरा सब मानिसहरुलाई अलमलमा जेल्ने र बेकारको बहस चलाएर फटाहाहरुले गफ गरेर खाने तरिका त होइन? केलाई मूल भन्ने जब असी लाख जति नेपालीहरु विदेशमा छन्। के उनीहरुले त्यहाँ बाँचेको जिन्दगी जिन्दगी होइन? त्यो जीवन झुटो हो? के बाहिर बाँच्नु भनेको नबाँच्नु सरह हो?

कक्षामा विद्यार्थीले मान्छेहरु कहाँ बाँच्नुपर्छ भनेर सोध्यो भने मैले के जवाफ दिउँला? मूलथलो भन्नेहरुकै जीवन बाहिरै बाँचेर सिद्धिन्छ भने त्यसलाई के भन्ने? ओखलढुङ्गामा जन्मिएर सिन्धुलीमा हुर्किएर गोठाटारमा बस्दै आएको म स्वयम्को भूमि कुन हो? मेरो गाउँ, मेरो जिल्ला, मेरो अञ्चल कुन हो? म देशवासी हुँ कि होइन? मेरो बाँच्ने अधिकार छ कि छैन? म नागरिक हुन पाउँछु कि पाउँदिनँ? अनि नागरिक भएपछि मेरा अधिकार के–के हुन्छन्?

एउटा मान्छेलाई देश किन चाहिन्छ? देश नभएको मान्छे कोही हुन्छ कि हुँदैन? गाई भैँसी वा खरायोको देश कहाँ हुन्छ? हावाको सिमाना कहाँसम्म हो? पानीको भूगोल कुन हो र सूर्यका किरणहरु कहाँका हुन्? मृग वा बाघ र हातीको देश हुन्छ कि हुँदैन? यिनीहरु कुन नियममा बाँच्छन् र मान्छेलाई बढी नियम किन चाहिएको हो? सभ्यताले यी नियमहरु दिएका हुन् भने सभ्यताका कारण मानिसलाई के–के फाइदा भयो र ती फाइदाहरुको हिस्सा मैले पाउनु पर्छ कि पर्दैन? फाइदाको हिस्सा मैले नपाउने हो भने मैले त्यसलाई सभ्यता भनेर जोगाउन लागिपर्नु पर्छ कि पर्दैन?

मैले बुझेको सोझो कुरा चाहिँ यस्तो छ– मैले त्यसलाई मात्रै आफ्नो भन्छु जसले मलाई हित गर्छ। देशले मेरो हित गर्न सक्दैन भने मैले मात्रै देश भनिरहनुको अर्थ छैन। मानवजातिले आफ्नो हितकै लागि देश र सरकारको अवधारणा ल्याएको हो। त्यसले मलाई हितभन्दा बढी अहित गर्न थाल्यो भने म त्यसको सदस्य बनिरहनु पर्दैन। देशको नाम नेपाल हुँदैमा गौरव गर्नुपर्ने कुरा केही छैन, नेपाल नभए अरु नै केही हुन्थ्यो वा देशको नाउँ नै हुँदैनथ्यो वा देशै हुँदैनथ्यो भने पनि केही फरक पर्नेवाला छैन। तर म त हुन्थेँ, मान्छेहरु पनि हुन्थे। कथित देशभक्तहरुलाई यो कुरा नराम्रो लाग्ला तर चित्त नदुखाए हुन्छ। तिमीहरुलाई देशले केही दिएको होला र तिमीहरु भक्ति गर्छौ मलाई देशले केही दिएको जस्तो लाग्दा म पनि देशलाई माया गर्दो हुँ। दिनेको माया कसलाई नलाग्ला?


प्रतिक्रिया दिनुहोस्