ओलीसँगको भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने – हामी एकै ठाउँमा छौं,गठबन्धन भत्कने कुरै छैन

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ५७


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताएका छन्। ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका हुन् ।

प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने र भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १/२ दिनमा सहमति मै टुंगो लाग्छ ।’

प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्