पत्र पाएपछि चीनले भन्यो, ‘नेपालीको जीवन रक्षाको ग्यारेन्टी हामी गर्छौँ’

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ५८


काठमाडौँ । तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ग्रसित बनेको चीनले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी लिएको भन्दै नआत्तिन आग्रह गरेको छ। 

नेपालले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता पठाउन अनुमति दिनभन्दै चीनलाई पत्र पठाएको थियो। उक्त पत्रपछि चीनले वुहानमा रहेका नेपाली विद्यार्थीको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै नआत्तिन आग्रह गरेको हो।  

‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन्। उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ, ’नेपालस्थित चिनियाँ दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। 

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौँ। चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ।’

विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस्