पृथ्वीनारायण क्याम्पसमा पठनपाठन ठप्प, १५ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : १७


पोखरा । गण्डकी प्रदेशकै ठूलो पृथ्वीनारायण (पिएन) क्याम्पसका आंशिक शिक्षकहरु करार नियुक्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रशासनसँग उनीहरुले दैनिक ज्यालादारी हटाएर करार सेवामा नियुक्ति गर्न माग गर्दै तीन दिन देखि अनिश्चित कालका लागि आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाईका अध्यक्ष सुनिल गौतमले आफुहरुले राखेका मागहरुको सुनाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताउनुभयो। 

गण्डकी प्रदेशकै ठूलो र प्रतिष्ठित क्याम्पसकारुपमा रहेको यस क्याम्पसमा लामो समय देखि कार्यरत प्राध्यापकहरुले आंशिक शिक्षकहरुको आन्दोलन प्रति प्रतिबद्धता जनाउदै उनीहरुका जायज माग पूरा नभएसम्म आफुहरुले कक्षा संचानल नगर्ने जनाएका छन्।

पृथ्वीनारायण क्याम्पसले आंशिक प्राध्यापकलाई समेत करारमा राख्नुपर्ने माग सहित आन्दोलन गरेका हुन्। क्याम्पस प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराएपनि समस्याको समाधान नभएको भन्दै आंशिक क्षिक्षकहरुले सोमबार देखि क्याम्पस प्रशासनमा ताला लगाएर सम्पूर्ण पठनपाठन ठप्प पारेका हुन्। समस्या समाधान नभएसम्म अध्यापन नगराउने आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष गौतमले जानकारी दिनुभयो।

२ सय ८१ जना आंशिक प्राध्यापकहरु रहेको यस क्याम्पसमा समस्याको समाधान नभए आफुहरुले सामुहिक राजिनामा दिने उहाँले बताउनुभयो। ‘क्याम्पसको आर्थिक पक्ष मजवुद हुँदाहँदै पनि आंशिक प्राध्यापकका लागि अति न्युन ज्यादादारीमा लगाएर श्रमशोषण गरियो’ उहाँले भन्नुभयो । ‘आंशिक शिक्षकका जायजमागका बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले वेवास्ता ग-यो।’

आंशिक शिक्षकहरु २ वटा माग लिएर आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले समान कामको समान ज्याला मासिकरुपमा पाउनु पर्ने र क्याम्पसका रिक्त दरवन्दीमा ज्यालादारी शिक्षकबाटै नियुक्ति हुनु पर्ने माग गरेका छन् । उनीहरुले यी माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।

बौद्धिक श्रम शोषणमा पर्यौ : प्राध्यापक संघ
पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आशिंक प्राध्यापकहरुले क्याम्पस प्रशासनले आफुहरुको बौद्धिक श्रम शोषण गरेको बताएका छन्। प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्राशासनले आफुहरुको विगत १४ वर्ष देखि नै बौद्धिक श्रम शोषण गरेको आरोप लगाउनुभयो। 

उहाँले क्याम्पस प्रशासनले दैनिक ज्यालादारी प्रथाबाट आफुहरुको बौद्धिक शोषण गरेको बताउनुभयो। क्याम्पसका अध्यक्ष सुनिल गौतमले आफूहरुले यी २ माग राख्दै आएको १४ वर्ष पुग्दा समेत वेवास्ता गरेपछि आफूहरु बाध्य भएर कडा आन्दोलन गर्नुपरेको बताउनुभयो। 

उहाँले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको आरोप लगाउँदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो। उहाँले विद्यार्थीको भविष्यप्रति चिन्ता आफूहरुलाई निकै चिन्ता लागेको तर आफूहरु आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। 

आन्दोलन ठीक नभएको प्रशासनको ठम्याइ 
क्याम्पस सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेलले शिक्षकहरुको माग जायज भए पनि आन्दोलन ठीक नभएको बताउनुभयो। उहाँले आन्दोलनले हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताउँदै समस्या समाधानमा पहल भइरहेको बताउनुभयो। उहाँले आंशिक शिक्षकहरुको समस्याका बारेमा जानकारी गराउन क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा त्रिविविको केन्द्रीय कार्यालय गएको जानकारी दिनुभयो। निमित्ति क्याम्पस प्रमुख पौडेलले यो समस्या समाधान छिट्टै हुने विश्वाससमेत व्यक्त गर्नुभयो। 

विद्यार्थी भन्छन्, शिक्षकमा माग जायज
विद्यार्थीहरुले शिक्षकहरुको माग जायज भएको बताएका छन् । उनीहरले शिक्षकमा माग जायज भएपनि  पढाइ रोक्नु गम्भीर गल्ती भएको बताए । उनीहरुले शिक्षकहरुले क्याम्पसको पठनपाठनलाई अबरुद्ध नगरी अन्य प्रक्रियाबाट आन्दोलदन गर्दा उपयुक्त हुने बताएका छन् ।

शिक्षकले आन्दोलनका बहानामा नढडाउने र क्याम्पस प्रशासनले समस्या समाधानमा पहल नगरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन्।

नेविसंघ पिएन क्याम्पसका सभापति दीपक शर्मा वाग्लेले शिक्षकको माग जायज भए पनि आन्दोलनको नाममा पढाइ नै रोक्नु नाजायज भएको बताउनुभयो। ‘शिक्षकहरुले आफ्नो अधिकारको माग गर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइदैन’ उहाँले भन्नुभयो। ‘मागको नाममा अरुको भविश्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छै्रन । समस्या समाधानमा दुवै पक्ष गम्भिर होउन् ।’ 

उहाँले शिक्षक र प्रशासन दुवैका धमण्डका कारण विद्यार्थी मारमा परेको बताउनुभयो । ‘क्याम्पस प्रशासन समस्या सुल्झउन गम्भिर हुनुपर्याे, नभए अन्य विकल्प दिनु पर्यो’ वाग्लेले भन्नुभयो ‘विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्छ । होइन भने क्याम्पसले २१४ जना शिक्षकलाई नै वर्खास्त गर्नुपर्छ । त्यो पनि नभए असक्षम भएँ भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’

अनेरास्ववियु पिएन क्याम्पस इकाइ कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले प्राध्यापकहरूको समस्या जटिल भएपनि वार्ता र सम्वाद मार्फत माग पूरा गर्ने तर्फ लाग्नु पर्ने बताउनुभयो। ‘आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न हुदैन’ उहाँले भन्नुभयो । ‘तत्कालै समस्यमा समाधान नभए सबै विद्यार्थी संगठनलाई साथमा लिएर आन्दोलन गछौँ।’

‘शिक्षकहरुका माग जायज छन् ।सबैले महसूस गरेकै कुरा हो । तर आफ्नो माग राख्दै गर्दा १५ हजार विद्यार्थीको भविष्यतर्फ पनि शिक्षकहरुले ध्यान दिनुपथ्र्यो’, अध्यक्ष न्यौपानेले भन्नुभयो।

मेरो कारण समस्या भएको हैन्ः क्याम्पस प्रमुख
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डाक्टर चन्द्र बहादुर थापाले आफ्नो कारणले गर्दा आंशिक प्राध्यापकलाई समस्या नपरेको दाबी गर्नुभएको छ। प्राध्यापकहरु अन्यायमा परेको स्वीकार्दै उहाँले क्याम्पस प्रशासनको हातमा केही नभएको बताउनुभयो। ‘क्याम्पस प्रशासनको हातमा केहि हुदैँन केन्द्रले नै सवै व्यवस्थापन गर्ने हो’ उहाँले भन्नुभयो। ‘मेरो काम यहाँका समस्या केन्द्रमा पु-याउने मात्र हो। निर्णय केन्द्रले गर्ने हो।’

आफ्नो तर्फबाट गर्न सक्ने सम्पुर्ण सहयोग गरेको बताउदैँ उहाँले विद्यार्थीको माग अनुसार एक दिन भए पनि अन्य आंशिक शिक्षक राख्न बाध्य हुने बताउनुभयो। आंगिक क्याम्पस भएको कारणले आफुले केही गर्न नमिल्ने उहाँको भनाइ छ ।‘प्राइभेट क्याम्पस भएको भए मैले माग सम्बोधन गर्ने थिए तर यो आंगिक क्याम्पस हो प्रक्रियामा जानुपर्छ मैले पनि दबाब दिएको छु’ डा. थापाले गर्नुभयो।

पृथ्वीनारायण क्याम्पसमा विगत १४ वर्ष देखि आंशिक प्राध्यापकहरुले कक्षाभार सहित अध्यापन गराउँदै आएका छन । स्नातकोत्तर तहमा साप्ताहिक रुपमा १२ पिरियड र स्नातक तहमा १५ पिरियड कक्षाभार बहन गर्दै आएका छन् । 

क्याम्पसमा कुल ५ सय ४९ जना प्राध्यापकहरु रहेका छन् । जसमा २ सय १८ जना आंशिक प्राध्यापक रहेका छन्। आशिंक प्राध्यापकहरुले कुल कक्षाभारको करिब ७० प्रतिशत कक्षाभार बहन गर्दै आइरहेका दाबी गरेका छन्। आंशिक प्राध्यापकले प्रति प्रिरियड रु ३ सयका दरले पाउने गर्छन। 


प्रतिक्रिया दिनुहोस्