नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरी कारागार चलान

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : ४४


धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो।

नेपालगञ्जबाट काठमाडौं लगेर त्यहाँबाट बिहिबार नै धनगढी ल्याइएको थियो। चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर कैलाली–२बाट जितेका हुन्।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो। अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो।

अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्