काठमाडौं। आत्मदह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।
बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्।
बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।
उनले आफनो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीविरुद्ध काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्।
सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ।