कोरोना भाइरसः वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पठायो पत्र

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  २ : २९


काठमाडौँ । सरकारले नोवल कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिनुभयो। तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिनेछ। 

मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको जानकारी दिनुभयो । ‘विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्थितिलाई लिएर विश्वव्यापी संकटकाल घोषणा गरेपछि थप तदारुकतासाथ नेपाली विद्यार्थी फिर्ता गर्ने पहलमा हामी जुटेका छौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो तयारीको स्थिति दर्साएर परराष्ट्रमार्फत चीन सरकारलाई पत्र लेखेका हौं ।’ गम्भीर संक्रमणको सम्भावना रहेका बेला विद्यार्थी फिर्ता ल्याएर तत्काल आइसोलेसनमा राख्न नसके थप खतरा बढ्ने भएकाले सरकारले प्राथमिकतामा राखेर घरफिर्तीको समन्वय गरिरहेको उहाँले बताउनुभयो। 

आइसोलेसनमा राख्नका लागि सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताल लगायत स्थानबारे मूल्यांकन भइरहेको छ । आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्