चीन । तिब्र रुपमा फैलिएको घातक कोरोना भाइरसका कारण यतिबेला चीनमा संकट पैदा भएको छ। कोरोना भाइरसका कारण मर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा २१३ बढीको मृत्यु भइसकेको छ भने १० हजार बढी संक्रमित छन्।
भाइरसका कारण सडकमै पनि शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला अन्य देशमा पनि फैलिएको छ। यो महामारी विश्वभरिफैलिँदै गएका कारण विश्व स्वास्थ्य संगठनले यसलाई आपतकाल घोषणा गरिसकेको छ।
यस भाइरसको संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि गत हप्ता चिनियाँ अधिकारीहरुले कोरोनो भाइरस लक्षण नदेखिदै एक मानिसबाट अर्को मानिसमा सर्ने घोषणा गरेका थिए। तर त्यो कुरालाई संसार शंकाको दृष्टिकोणले हेरियो।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यो कुराको प्रमाण नभेटिएको बताउँदै पत्याएको थिएन्। तर अन्ततः त्यो कुरा त सत्य सावित भएको छ। वास्तवमै यो भाइरस लक्षण एक व्यक्तिमा लक्षण नदेखिदै अर्को व्यक्तिमा सर्ने गरेको पुष्टी भएको छ।
त्यो कुराको पुष्टि जर्मनमा गरिएको एक अध्ययन रिपोर्टले गरेको छ। उक्त रिर्पोट सार्वजनिक भएपछि अमेरिकाका शीर्षस्थ डाक्टरले मानिसमा लक्षण नदेखिदै कोरोना भाइरसको संक्रमण पर्ने कुरामा कुनै शंका बाँकी नरहेको बताएका छन्।
अमेरिकाका नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजका डाइरेक्टर एन्थोनी फाउसीले उक्त कुरा बताएका हुन्।
न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनमा जर्मनका अनुसन्धाकर्ताहरुले चार जना व्यवसायीहरु लक्षण नदेखिदै उक्त भाइरसको संक्रमणको शिकार बनेको बताएका छन्।