सात हजार यात्रु पानीजहाजमै थुनिएपछि…

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ४ : ०५


काठमाडाैं । बिहिबार इटलीको एउटा क्रुज पानीजहाजमा ७ हजार यात्रु जहाज भित्रै थनिएका छन् । कारण कोरोना भाइरसको त्रास । बिहीबार राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका यात्रुमध्ये एक जनालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि यात्रुलाई जहाजमा थुनिएको हो ।

यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई जहाजबाट उत्रिन अनुमति दिइयो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए । जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो ।

परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन । कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो । शंका गरिएकी बिरामी, ५४ वर्षकी चिनियाँ महिला त्यहीँबाट जहाज चढेकी थिइन् ।

साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो । यहाँ ती महिलालाई फ्लुजस्तै लक्षण देखिएपछि उनलाई उनका पार्टनरसहित क्वारेन्टाइनमा राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्