युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने अमेरिकाको निर्णय

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ११


एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने भएको छ ।

जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको हो ।

रूसी आक्रमण विरूद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीले स्पष्ट पारेका छन् । यसअघि जर्मनीले १४ वटा लियोपार्ड-२ ट्यांक पठाउने निर्णय गरेको थियो ।

युक्रेनले महिनौंदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई लबिङ गर्दै आएको छ । रूसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ। एक वर्ष पुगेको मौकामा ठूलो बदला लिन युक्रेनले शक्ति सञ्चय गर्नुका साथै ठूलो विदेशी सहयोग चाहेको छ ।

युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउने निर्णय गरेका हुन् । आउँदो वसन्त याममा युक्रेनले रुसी सेनालाई आफ्नो देशबाट फिर्ता पठाउने लक्ष्यका साथ विभिन्न योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्