हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : ४४


हेटौँडा । नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, सो दुर्घटनामा परी अटो चालक बैतडी घर भई हाल हेटौँडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् ।

उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताउनुभयो ।

शव परीक्षणका लागि हेटौंँडा अस्पतालमा पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस्