पृथ्वी जयन्तीमा राप्रपाले विशेष कार्यक्रम गर्ने, प्रधानमन्त्रीलाई पनि निम्तो

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ०३


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपापृथ्वी जयन्ती विशेष किसिमले मनाउने भएको छ।

नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

सोही अवसरमा राप्रपाले बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ।

‘३०१औँ पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको छ।

समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको छ।

नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुनुहुन्छ। विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो ।

उहाँको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो । नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्