साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारी पाटनढोकामा

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ३१


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुग्नुभएको छ।

राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो।

हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो। उहाँले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गर्नुभयो।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गर्नुभएको थियो।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुग्नुभएको थियो। पिम्बहाः मा उहाँले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो।

काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो। पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्कनुभएको छ।

 


प्रतिक्रिया दिनुहोस्