काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ।
प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो।
प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले राससलाई जानकारी दिनुभयो।
प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उहाँले बताउनुभयो । प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिने भएको छ । सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ ।
प्राधिकरणले बल्खु खोला नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ । काठमाडौँ उपत्यकाका अन्य नदी किनार दायाँबायाँका जग्गाको पनि संरक्षण गरिने भएको छ । मिचिएका नदी किनारका जग्गाको संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गरिने प्राधिकरणले जनाएको छ।