काठमाडौं । पाटन उच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरो इन्चार्ज माइला लामा सहित चारजनालाई रिहा गर्न आदेश गरेको छ ।
पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।
ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको छ ।
उनीहरु सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।