गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ४८


मुगु । गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ।

असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो।

छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो । छायाँनाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताउनुभयो।

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्ला बाहिर लैजान सहज भएको छ। स्थानीय रामकृष्ण भामले कोदो, सिमी, फापरलगायत उत्पादन खरिद गर्न जिल्ला बाहिरका व्यापारी आउन थालेका बताउनुभयो। सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढुङ्गाको बिक्री बढेको छ।

स्थानीयस्तरमा विकास निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्न सहज भएको छायाँनाथ रारा पालिका–६ का हर्कबहादुर कुलालले बताउनुभयो।

गमगढी–बालै सडक खुलाउन छायाँनाथ रारा नगरपालिकाले पहल गरेको हो। नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको बताउनुभयो। “सडक स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको छ”, उहाँले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस्