काठमाडौं । नेपाल पत्रकार महासंघले वरिष्ट पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको खवरले स्तब्ध भएको जनाएको छ ।
विगत केही वर्षदेखि अस्वस्थ्य रहनु भएका गुप्ताको ९२ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको थियो । स्वर्गीय गुप्ताका ४ छोरा र ३ छोरी हुनुहुन्छ ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।
उहाँ २०५६ भाद्रदेखि २०५८ फागुनसम्म महासंघ बाँके शाखाको सभापति हुनुहुन्थ्यो ।
शाखामा हाल अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका गुप्ता पछिल्लो समय किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ बाँके शाखाले एक सक्रिय अभिभावक गुमाएको छ ।
पत्रकार महासंघले स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।