एजेन्सी । कतैबाट बिहेको प्रस्ताव आयो भने जोसुकैको पहिलो चासो हुन्छ, त्यो मान्छे कस्तो होला ? मान्छेको बौद्धिक अवस्था, पारिवारिक स्थिति भन्दा पहिला आउँछ आफूसँग बिहे गर्ने व्यक्ति शारिरीक रुपमा कस्तो होला भन्ने प्रश्न ।
पाकिस्तानका वेटलिफ्टर अहिले आफूसँग मिल्ने दुलही नपाएर हैरान छन् । दुलही नपाउनुको कारण एउटै छ– उनको भीमकाय शरीर ।
उनले आफूजस्तै दुलही नपाए पनि कम्तीमा आफूभन्दा एक तिहाइ कम तौल भएकी भए पनि दुलही खोजिरहेका छन् तर पाउन सकेका छैनन् ।
२७ वर्षीय पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् ।
४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।
हयातलाई मात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।
परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ ।
यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यालोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा मात्रै खान्छन् ।
सबैभन्दा बलियो व्यक्ति बन्ने सपना बोकेका उनी आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको बताउँछन् । उनी भन्छन्, ‘म अहिलेको तौलमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु । म संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको नाम लेखाउनको लागि दैनिक अत्यधिक खाना खान्छु।’
आफ्नो तौल बढाउनका लागि आफूले किशोरावस्थादेखि नै खाना बढाएको उनको भनाई छ । यो प्रक्रिया अहिले पनि जारी रहेको र आफूलाई सम्पूर्ण पाकिस्तानीले चिन्ने भन्दै उनी गर्व गर्छन् ।
हयातले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए ।
हयातका अनुसार, ‘मेरा आमाबुवा नाती नातिना खेलाउन चाहन्छन् । त्यसैले चाँडै मेरो विवाह गराउन खोजिरहेका छन् । अहिलेसम्म तीन सय प्रस्ताव आइसकेको छ तर मेरो शरीर अनुसार जोडी नमिल्ने सोचेर सबै सम्बन्ध तोड्नुप¥यो।’