नेकपा बैठकः धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा शुरु भयो समूहगत छलफल

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ६ : ०३


काठमाडौं । बुधबारदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक बिहान ११ बजेदेखि तीन ठाउँमा बस्न थालेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन र विधान संशोधनमा समूहगत छलफल गर्न पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल शुरु भएको हो ।

कूल ४४६ केन्द्रीय सदस्यहरुलाई वर्णानुक्रम अनुसार १५ वटा समूहमा विभाजन गरी छलफल शुरु गरिएको पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार ८ वटा समूह राष्ट्रिय सभागृहमै रहेका छन् भने ४ वटा समूह पेरिसडाँडा र ३ वटा समूह धुम्बाराहीमा छलफलमा जुटेका छन्।

धुम्बाराहीको छलफलमा जुटेका एक केन्द्रीयका अनुसार प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य रहेका छन् । समूहमा रहेका सबै केन्द्रीय सदस्यहरुले भोलि १ बजेसम्म राजनीतिक प्रतिवेदन र समसामयिक विषयमा छलफल गरी समूह नेतामार्फत् केन्द्रीय समिति बैठकमा समूहको निष्कर्ष प्रस्तुत गर्नेछन् । 

समूहमा कसैले फरक मत राखेमा उनीहरुलाई पनि बोल्ने समय दिइने सम्भावना रहेको ती केन्द्रीय सदस्यले बताए । 


प्रतिक्रिया दिनुहोस्