काठमाडौँ । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गर्नुभएको छ।
सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गर्नुभएको हो। चारवटै विधेयक बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामुखबाट प्रमाणित विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने बताउनुभयो। योगीले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार सभामुखबाट विधेयक प्रमाणित भएका छन्। प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पनि हामीले पठाइसकेका छौँ। ”
सभामुख सापकोटाले बुधबार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ प्रमाणित गर्नुभएको हो। तीनवटै विधेयक संसद्को तेस्रो अधिवेशनबाट पारित भएका हुन्। आजको गोरखापत्र दैनिकमा खबर छ।