शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ५२


सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ।

अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो।

सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो। कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी आज बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिनुभयो।

सर्वोच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो।

उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो। उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्