सांसदद्वय यादव र राईले लिए शपथ

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ०८


प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उहाँहरुलाई शपथ गराउनुभयो।

शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो। प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिनुभएको थियो । यादव र राई कारणवश शपथ लिन छुट्नुभएको थियो।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन्। दुई सांसदले शपथ लिन बाँकी छ।

सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सक्नुभएको छैन। उहाँहरुले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्