काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गत उपनिर्वाचनमा विजयी हुनेहरुको संख्या बढाए तापनि धरान र भक्तपुरमा भएको पराजयले उसलाई ठूलो धक्का महसुस गराएको थियो । आज उदघाटन भएको नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्षद्वयको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनावी समीक्षा गर्दै धरान र भक्तपुरमा चुनाव हार्नुका कारणहरु किटान गरिएको छ ।
भक्तपुरको प्रदेशसभा निर्वाचनको सन्दर्भमा राजनीतिक प्रतिवेदनमा यसो भनिएको छ :
१. उम्मेदवार चयनमा स्थानीय जनता र कार्यकर्ताको मनोविज्ञान र कार्यकर्ताको चाहनाका सन्दर्भमा यथेष्ट ध्यान नपुग्नु । उम्मेदवार तय भएपछि प्रकट भएको असन्तुष्टि समाधान गर्न समय लाग्नु ।
२. हाम्रो पार्टीविरुद्ध नेपाली कांग्रेस, राप्रपा लगायतले गठबन्धन गर्नु ।
यसैगरी धरानमा चुनाव हार्नुका कारणहरु पनि राजनीतिक प्रतिवेदनमा समेटिएको छ । धरानमा चुनाव हार्नुलाई प्रतिवेदनमा बुँदागतरुपमा यसरी उल्लेख गरिएको छ :
१. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुप्रति जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई समयमै सम्बोधन गर्न ध्यान नदिनु ।
२. स्थानीय तहबाट हुने निर्णयमा जनताको सरोकारलाई ध्यान दिन नसक्नु । कर निर्धारण गर्दा वस्तुनिष्ट र व्यवहारिक बन्न नसक्नु ।
३. नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच अघोषित गठबन्धन हुनु ।
यसबाहेक उपनिर्वाचनका क्रममा पार्टीले गरेका अन्य कमजोरीहरुलाई पनि राजनीतिक प्रतिवेदनमा बुँदागतरुपमा औंल्याइएको छ ।