तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : २६


म्याग्दी । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ।

वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

चाप बढेपछि दैनिक दुईरदुई घण्टाका दरले पुरुष र महिलालाई दुईरदुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो।

“चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको छ”, उहाँले भन्नुभयो, “सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक–फरक समयतालिका बनाएका हौँ।”

प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन्।

साउन महिनायता पाँच हजार चार सय ३८ ले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मङ्सिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन्।

पुस सुरु भएदेखि तातोपानी स्नान गर्नेको दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ।

छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ। त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ।

एक दिनमा दुई पटक दुईरदुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कदासम्म विश्राम गरिन्छ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ।

विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस्