फिफाले मेस्सीको फोटो पोस्ट गर्दै भन्योः ‘गोट’ बहस टुंगियो!

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ००


काठमाडौं। विश्व फुटबलको अभिभावक तथा प्रशासकिय निकाय फिफाले सबै समयका महान खेलाडी ‘गोट’ विवाद अहिलेका लागि टुंगिएको बताएको छ।

फिफाले आफ्नो आधिकारिक सामाजिक संजाल ट्विटरमा अर्जेन्टिनी स्टार मेस्सीको फोटो पोस्ट गर्दै गोट विवाद टुंगिएको बताएको हो।

फुटबल जगतमा पाउनुपर्ने सबै पुरस्कार र उपाधि पाएता पनि मेस्सीले अहिलेसम्म विश्वकपको उपाधि भने जित्न सकेका थिएनन्।

तर आइतबार राति अर्जेन्टिनाले फिफा विश्वकपमा फ्रान्सलाई पेनाल्टीमा पराजित गरेसँगै मेस्सीले पहिलोपटक विश्वकपको उपाधि जितेका हुन्। अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि हात पारेको हो।

आइतबार राति मेस्सीले निर्धारित र अतिरिक्त समयमा २ र डिमारियाले १ गोल गर्दा उता फ्रान्सका लागि एमबाप्पेले ह्याट्रिक गरेका थिए। खेल बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टीमा लिइएको थियो।

यसअघि मेस्सीले आफ्नै कप्तानीमा सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलसम्म डोर्याएका थिए। त्यसबेला अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो। मेस्सीले आइतबार राति दोस्रोपटक विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी अवार्ड हातपार्दा गोल्डेनबुट एमबाप्पेले लगे।

वास्तवमा विश्वकप फुटबलको उपाधि मात्र जित्दा मेस्सी सबै समयका महान खेलाडी कहलिएका हुन्। फिफाले पनि सोही कारण मेस्सीलाई गोट भनेको हो।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि फुटबलमा पाउनुपर्ने सबै उपाधि हात पारेका छन् तर उनले विश्वकप भने जितेका छैनन्। यता विश्वकप जितेसँगै अब मेस्सीले भने फुटबलको सबै उत्कष्ट अवार्ड र पुरस्कार पाउन सफल भएका छन्।

मेस्सीले पाएका पुरस्कार र उपाधि
–मेस्सीले यसवर्ष सन् २०२२ मा फिफा विश्वकप उपाधि जितेका छन्। सन् २०१४ मा मेस्सीको अर्जेन्टिना उपविजेतामा सिमित बनेको थियो। मेस्सीले दुवै विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्।

–मेस्सीले गतवर्ष सन् २०२१ मा कोपा अमेरिका उपाधि हात पारेका थिए। त्यसबेला उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा गोल्डेन बुट उनैले जितेका थिए।

–यसैवर्ष सन् २०२२ मा मेस्सीले कोन्मेबोल–युइएफए कप अफ च्याम्पिन्यस जितेका थिए।

–मेस्सीले ७ पटक बालुन डि’ओर अवार्ड जितेर किर्तिमान बनाएका छन्।

–मेस्सीले ६ पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेर किर्तिमान बनाएका छन्।

–मेस्सीले ८ पटक पिचीची अवार्ड पाएका छन्।

–मेस्सीले चार पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्।

–उनले बार्सिलोनाबाट १० पटक ला लिगा उपाधि हात पारेका छन्।

–उनले ७ पटक कोपा डेल रे र ३ पटक युइएफए सुपर कप जितेका छन्।

यसबाहेक पनि अनगिन्ती अवार्ड र उपाधि उनले प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्