भोलि सरस्वती पूजा

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : २३


काठमाडौं । भोलि बिहिबार श्रीपञ्चमी अर्थात सरस्वती पुजा परेको छ । 

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन गरिन्छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास  छ ।

भोलि देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वतीको पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । 

सरस्वतीको पूजाका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
  
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ।

उक्त दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ।

यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
  
वसन्त श्रवण

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ : ०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।

वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको उहाँले बताउनुभयो । 

यसरी मनाउनुहोस् सरस्वती पूजा

बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस्।

प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस्। अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस्।

पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् । माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन्।

 


प्रतिक्रिया दिनुहोस्