अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री राजदूतमा नियुक्त

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : १७


अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त भएका छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो नियुक्तिलाई हालसम्मकै उत्कृष्ट रहेको बताएका छन्।

‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको जिम्मेवारीपछि यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियाको साखमा ठूलो परिवर्तन ल्याउनेछन्’, प्रधानमन्त्री अल्बानिजले भने।

धाराप्रवाह मन्डारिन भाषा (चिनियाँ) समेत बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धवारे व्यापक रूपमा लेख्दै र बोल्दै आएका छन्। उनी अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन्।

अमेरिकाको लागि राजदूतको जिम्मेवारी उनले आगामी वर्षको शुरुदेखि सम्हाल्ने बताइएको छ। केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएकामध्ये हालसम्मकै तेस्रो पूर्व प्रधानमन्त्री हुन्। यसअघि पाकिस्तानका मोहम्मद अलि बोग्रा र नेपालका मातृकाप्रसाद कोइराला पनि पहिले प्रधानमन्त्री र पछि अमेरिकाको लागि राजदूत बनेका थिए।

कोइराला सन् १९६१ जुलाई १३ का दिन राजदूत नियुक्त भएका हुन्। त्यतिबेला नेपालमा प्रधानमन्त्री तुलसी गिरी र अमेरिकामा राष्ट्रपति जोन एफ केनेडी थिए।

 


प्रतिक्रिया दिनुहोस्