विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : १८


लेखनाथ । विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ।

विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिनुभयो।

गुरुङहरूले मान्दै आएको ल्होसार पर्वअन्तर्गत तो ल्हो (बाघ वर्ग)बिदाइ र हि ल्हो (बिरालो वर्ग) आगमनका अवसरमा विश्व शान्तिका लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिनुभयो।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शान्तिका लागि असल भावना, सत्कर्म र अमृत वचन आवश्यक रहेको बताउनुभयो।

उहाँले शान्तिबाट नै आनन्दमय जीवन प्राप्त हुने बताउनुभयो। उक्त पूजा १० दिनसम्म चल्ने बताइएको छ।

उपप्रमुख गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेको र पोखरा महानगरपालिकाले माध्यमिक शिक्षासम्म पठनपाठनका लागि समन्वय गर्ने वचनसमेत दिनुभयो।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मीन गुरुलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त पूजामा विभिन्न जिल्लाबाट बौद्ध उपासक तथा उपासिकाहरूको उपस्थिति रहेको जानकारी गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङले दिनुभयो। रासस


प्रतिक्रिया दिनुहोस्