धादिङको दम्पती हत्या अभियोगमा दुई बालक पक्राउ

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : २२


मलेखु । धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए ।

स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन् । उनीहरूसँग हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

हत्या गरिएका दम्पति जस्ता र काठको कच्ची घरमा बस्दै आएका थिए ।

विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा भेटिएको थियो । निधारमा र दाहिने आँखामाथी गहिरो चोट छ । निरमायाको शव घरभित्रै भेटिएको छ ।

घटनास्थल वरपर शंकास्पद केही देखिदैन । चोट लागेको ठाउँमा रगतका टाटा मात्रै देखिन्छ । तर, घटनाको प्रकृति हेर्दा हत्या नै हो भन्न सकिन्छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्री भन्छन्( ‘घरभित्र भएको निरमायाको शव र घर बाहिर खाटमा नै भएको विष्णुबहादुरको शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान अनुसार नियोचित ढंगबाट हत्या भएको देखिन्छ ।’

हत्या भएका दम्पतिको एक छोरी र छोरा छन् । छोरा काठमाडौमा डेन्टल क्लिनिक चलाउदै आएका छन् भने छोरी विवाह पश्चार श्रीमानसंगै काठमाडौंमा बस्दै आएका छन् ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात् प्रहरीले शवलाई पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिरहेको छ । घटना स्थल पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट करिव तीन घण्टा लाग्छ ।


प्रतिक्रिया दिनुहोस्