बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन्।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए।
उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे।
महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए।
उनले ४ मंसिरको निर्वाचनको औचित्य पुष्टि नभएको पनि टिप्पणी गरे। ‘४ मंसिरको निर्वाचनले जनतामा खुसी दिएन’, उनले भने, ‘अब अहिलेको अभ्यासको संघीयता र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको छ।’